काठमाडौं, २८ चैत। काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २५७ रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २३८ छ । अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थ अवस्थामा रहेको छ ।
त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन वातावरण पनि अस्वस्थ रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मानिएको छ ।
अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गलमा लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।
मौसम विभागले काठमाडौंमा अझै केहि दिन वायु प्रदुषणको अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ ।