काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेखेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराएका हुन् ।

“प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस्,“ उनले भनेका छन् ।

उनले आफूहरूले विश्वविद्यालयहरूमा हुने नियुक्ति दलीय भागबन्डाबाट मुक्त बनाउन निरन्तर प्रयास जारी राखेको पनि बताएका छन् ।
“यसका निम्ति हालका कानुन बदल्नुपर्छ, भन्नेमा प्रस्ट छौँ । सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धी विधेयकमा संसद्मा काम गर्नुपर्ने छ, गर्ने नै हो । तर, ती कानुन बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन् दलीय भागबन्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ,“ उनले भनेका छन् ।

 

Facebook Comments Box