बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई यस्तो छ पुरस्कार

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई यस्तो छ पुरस्कार

Avatar photo

Byरुरु संवाददाता

२० चैत्र २०८०, मंगलवार ०९:०३

बुटवल। बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ। बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले २०८० साल चैत २४ गतेदेखि २७ गतेसम्म उक्त प्रतियोगिता गर्न लागेको हो। पालिकाले कर्णेण उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो ।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म ११७ जनाले नाम दर्ता गराएका छन् । बुटवल उपमहानगर पालिकाका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले प्रतियोगितामा ४ सय जना प्रतियोगि उपस्थित हुने बताएका छन्।
प्रतियोगितामा सहभागि हुनको लागि रुपन्देही जिल्लाका खेलाडिलाई ३ हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंया, रुपन्देही बाहेककालाई ७ हजार रुपैंया र नेपाल बाहिरका खेलाडिलाई १० हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक तथा नेपाल बुद्धिचाल संघका सल्लाहकार माधवप्रसाद प्रधानले बताएका छन्।

नेपालमा अहिलेसम्मकै अत्यधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा श्रेणीअनुसार ५१ जना सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १ लाख १० हजार रुपैंया, तृतीय हुनेलाई ६० हजार चौथो हुनेलाई ४० हजार, पाँचौं हुनेलाई ३० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तैगरी छैठौंदेखि दशौंसम्म आउनेलाई २० हजार, एघारौंदेखि १५ औंसम्म आउनेलाई १५ हजार र १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले बताए।

त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । विधागत रुपमा २० जनालाई ५१ हजार देखि १० हजार रुपैंया सम्म पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगितामा कुल १० लाख १ हजार रुपैंया पुरस्कार वितरण गरिने छ ।प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । जसको लागि बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंया प्रदान गरेको छ भने १५ लाख रुपैंया खेलाडि दर्ताबाट संकलन हुने र बाँकी रकम प्रयोजक तथा सहयोग संकलन गरि प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष पुनले बताए।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न खेलकुदका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय लगानी गरेको बताउनु भयो । उहाँले यो प्रतियोगिताले खेलाडि उत्पादनसंगै खेल पर्यटनमा पनि योगदान पुग्ने जनाएका छन्।

 

Facebook Comments Box