काठमाडौं । विश्वभर डलर अर्बपतिहरुको संख्या २ हजार ७८१ पुगेको छ । फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को वार्षिक सूची अनुसार गत वर्ष (सन् २०२३) को तुलनामा अर्बपतिहरुको संख्या १४१ जनाले बढेर हालसम्मकै उच्च पुगेको हो ।
अर्बपतिहरुको उक्त संख्या सन् २०२१ मा बनाएको रेकर्ड भन्दा २६ जनाले धेरै भएको फोर्ब्सले उल्लेख गरेको छ ।अर्बपतिहरुको सम्पति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय विश्वका प्रमुख सेयर बजारहरु नयाँ उचाईमा पुगेपछि अर्बपतिहरुको सम्पतिमा पनि उल्लेख्य वृद्धि भएको हो ।
फोर्ब्सको सूची अनुसार २ हजार ७८१ जना अर्बपतिहरुको कुल सम्पति १४२ खर्ब डलर पुगेको छ । सम्पति सन् २०२३ को भन्दा २० खर्ब डलर धेरै हो भने यसअघि सन् २०२१ मा बनाएको रेकर्डभन्दा ११ खर्ब डलर बढी हो ।सूचीका दुई तिहाइ अर्बपतिहरुको सम्पति १ वर्ष अघिको भन्दा बढेको छ । एक चौथाइको मात्र सम्पति घटेको फोर्ब्सले जनाएको छ । सबैभन्दा धेरै अर्बपतिहरु अमेरिकामा रहेका रहेका छन् ।
अमेरिकामा अर्बपतिहरुको संख्या इतिहासकै उच्च ८१३ पुगेको छ । उनीहरुको सम्पति ५७ खर्ब पुगेको छ । धेरै अर्बपति हुने देशमा चीन दोस्रो स्थानमा रहेको छ । चीनका ४७३ अर्बपतिहरुको सम्पति १७ खर्ब डलर रहेको छ । तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिहरुको संख्या इतिहासकै उच्च २०० पुगेको छ ।