काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुई-दुई विकेट लिए ।

गुलसन झा र विवेक यादवले पनि एक-एक विकेट हात पारे । गुजरातका लागि उमंग तन्डेलले सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले पनि २९ रनको योगदान गरे ।त्यसअघि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुवैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौवटा चौका पनि प्रहार गरे । उनी १३.३ ओभरमा नेपालको पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए । उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।

कुशल मल्ल एक रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । गुलसन झाले चार रन बटुले । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।

Facebook Comments Box