काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ । विश्व बैंकले मंगलबार ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्र डोर्याउने बताएको छ । साथै, विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्ने अनुमान गरेको छ ।
नेपाल डेभलपमेन्ट अपडेटले आगामी आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्र थप बलियो बन्दै ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्दपि, यो प्रक्षेपण बहुचुनौतिसहितको रहेको विश्व बैंकले उल्लेख गरेको छ । जसमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धिका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । चुनौतीको सामना गर्नका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी रहेको छ ।
पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले बताएका छन् । यता, चालु आर्थिक वर्षमा समग्र दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत र आगामी वर्ष ६.१ प्रतिशत हुने अनुमान गरिएको छ ।
Facebook Comments Box