काठमाडौं, ६ जेठ। आइतबार अर्थात् आज सुनको मूल्यले नयाँ रकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ कायम र तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार २०० रुपैयाँ पुगेको छ।
बिहीबार अर्थात् जेठ ३ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
किन दिनदिनै बढ्दै छ सुनको भाउ ?
विश्लेषकहरुका अनुसार पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले लिएको नीतिले गर्दा बजारमा सुन महँगिदै गएको हो । यस बाहेक रुस र युक्रेनको द्वन्द्वको कारण पनि सुनको भाउ महँगिदै गएको विश्लेषकहरु बताउदै आएका छन्। आर्थिक मन्दी, मुद्रास्फीतिलगायत अर्थतन्त्र आरालो लागेको बेला पनि लगानीकर्ताले सुनको खरिद बढाउने गरेका छन् । पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेको छ । यसले पनि मूल्य वृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरु बताउँछन् । यता, आज चाँदीको भाउ पनि प्रतितोला ११० रुपैयाँले बढेर १९ सय १० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ कायम रहेको थियो ।