एजेन्सी । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोह आजदेखि सुरु हुँदैछ । चार दिनसम्म चल्ने यो कार्यक्रम पाहुनाहरूको स्वागत दिवा भोजबाट सुरु हुनेछ ।

यो कार्यक्रम इटालीको पार्लेमो सहरमा हुनेछ । त्यसपछि, सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमा स्टाररी नाइट मनाइनेछ।यो दोस्रो प्रि–वेडिङ समारोह हुने क्रुजको नाम ‘सेलिब्रेटी एसेन्ट’ हो । यो मे २९ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गरी ४३८० किलोमिटरको यात्रा गरी दक्षिणी फ्रान्स पुग्नेछ ।

उक्त समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, परिवारका साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटाली पुगेका छन् । लगभग ३ सय भीआईपी अतिथिहरू यो समारोहमा उपस्थित हुनेछन्।

यस कार्यक्रममा सहभागी हुन भारतबाट धेरै बलिउड सेलिब्रेटीहरू इटाली प्रस्थान गरेका छन् । यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।

यो उत्सवको कूल बजेट ४०० देखि ५०० करोड भारतीय रुपैयाँ छ। अनन्त–राधिकाको विवाह जुलाईमा हुने भएकाले तीनवटै समारोह (पहिलो, दोस्रो प्रि–वेडिङ र बिहे)को खर्च हेर्दा १५ सय करोड रुपैयाँ बजेट आउनेछ ।

यसअघि मुकेश अम्बानीकी छोरी ईशाको विवाहमा ४०० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । ईशाले विवाहमा ९० करोडको लेहेंगा लगाएकी थिइन् ।

अर्कोतर्फ, बलिउडको कुरा गर्ने हो भने दीपिका पादुकोण, प्रियंका चोपडा र अनुष्का शर्माको विवाहको कुल बजेट ९० देखि १०० करोड रुपैयाँ थियो ।

 

Facebook Comments Box