गुल्मी ।पोखराबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्लाको ताल्चा घर भई हाल बुटवल बस्दै आएका ३५ वर्षीय युवराज कुँवर रहेका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।

उनी बसका सहचालक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ मक्वादीस्थितरिडी तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रिडी–तम्घास पक्की सडकबाट बस अन्दाजी ५०/६० मिटर तल खसेको थियो। बसमा १३ यात्रु घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका ११ जनाको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका एक जनाको रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन्।

बस दुर्घटनामा परेर स्याङ्जाको बालिङका २८ वर्षीय मनोज वाल्यालको बायाँ खुट्टामा चोट लागेको छ। उनी सवारी चालक समेत हुन्। त्यस्तै स्याङ्जाका २७ वर्षीय खेमराज लम्साल, कास्कीका २३ वर्षीय रोशनी नेपाली, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ का ३० वर्षीय रीता विश्वकर्मा, छत्रकोट गाउँपालिका-३ का ४२ वर्षीय शान्ति परियार घाइते भएका छन्।

रुरुक्षेत्र गाउँपालिका-३ का २३ वर्षीय सुशीला नेपाली, २३ वर्षीय गंगा नेपाली रेसुंगा नगरपालिका- १० का केशव अर्याल र इन्द्रा सुवेदी घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिका-२ का २० वर्षीय ओम बहादुर बलाल र डडेलधुरा नवदुर्गा गाउँपालिका-२ का राज बहादुर साउद घाइते भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

 

Facebook Comments Box