क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकृत

विश्वकप खेल्ने सपना अधुरै

Avatar photo

Byरुरु संवाददाता

१७ जेष्ठ २०८१, बिहीबार १७:२२

 

काठमाडौँ । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो ।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए ।

भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।

Facebook Comments Box