गुल्मी, ११ जेठ। गुल्मीमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
उनाएचौर सबस्टेसनका स्टोर प्रमुख नारायण थापाका अनुसार सबस्टेसनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको छ।
उनका अनुसार जेठ महिनाभर चार्ज गर्ने काम सकिएपछि विद्युथ वितरण गर्ने तयारी रहेको छ।
हाल बुटवलको ३३ केभीएमार्फत् गुल्मीमा विद्युत वितरण भइरहेको छ । क्षमता कम हुँदा गुल्मीबासीले छिनछिनमा बत्ती जाने समस्या झेल्दै आएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दूरी हुँदा छुट्टै सबस्टेसन बनाउन थालिएको हो ।
नेपाल विद्युत प्राधिकरणको ४५ करोड रुपैयाँ लागतमा विद्युत सबस्टेसन निर्माण सुरु भएको हो । सबस्टेसन बनाउने जिम्मा सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले लिएको छ ।
कपिलवस्तुको मोतिपुरमा रहेको सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुंगा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।
गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सबस्टेसन निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।