गुल्मी, १४ जेठ। गुल्मीको सदरमुकाम तम्घासमा साना तथा मझौला होटल व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । प्रदेश विकास परिषद् लुम्बिनी प्रदेशको आयोजना र होटल व्यवसायी मञ्च गुल्मीको समन्वयमा साना तथा मझौला होटल व्यवस्थापन सम्बन्धी तालिम जेठ १३ गतेदेखि सुरु भएको हो । उक्त तालिम यही जेठ १८ गतेसम्म् सञ्चालन हुने छ।

तालिमको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पर्यटन नै समृद्धिको आधार भएकोले होटल व्यवसाय पनि यसको एक महत्वपूर्ण मेरुदण्ड रहेको बताउँदै तालिमबाट सिकेका ज्ञान सीपलाई आफ्नो पेसा व्यवसायमा व्यवहारिक रुपमा लागु गर्न आग्रह गरेका छन् । रेसुङ्गा नगरपालिका सधैं होटल व्यवसायीहरुको साथमा रहेको बताउँदै होटल व्यवसायीहरुको सीप क्षमता विकासको लागि यो तालिम प्रभावकारी हुनेप्रति विश्वास व्यक्त गरे ।

यसका साथै रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको जाँऊ हिँड रेसुङ्गा अभियानका कारण प्रसिद्ध धार्मिक तथा प्रसिद्ध स्थल रेसुङ्गा राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण भएको जिकिर गर्दै यहाँ आउने पर्यटकहरुलाई परिस्कृत र गुणस्तरीय सेवा दिन आग्रह गरेका छन्।

त्यसैगरी, होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंग बहादुर कुँवरले युवाहरुलाई समयाअनुकुल होटल व्यवसाय सञ्चालनका लागि यो तालिम अति आवश्यक भएको बताएका छन्।

प्रदेश विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामेश्वर जोशील यस प्रदेशका विभिन्न जिल्लाहरुमा समय समयमा होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि र व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको बताएका छन्।उनले लुम्बिनी प्रदेशका ऐतिहासिक सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको विद्युतीय अभिलेख व्यवस्थापनका लागि यस प्रदेशका १२ वटै जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुको छनोट समेत गरिएको जानकारी दिएका छन्।

 

 

Facebook Comments Box