क्या थियो त्यस बखतको नेपाल। २००० सालतिर सम्म नेपालमा सरकारी कर्मचारीहरुले घुस खाने चलन शुरु भएकै थिएन । कर्मचारी नियुक्ति, अदली, बदली, हुँदाखेरी घुस रिसवत खाने छैन भनी शालिग्राम, तामा, तुलसी शिरमा राखी शपथ खुवाइन्थ्यो ।
जनतालाई अक्करमा पारेर ढिला–सुस्ती गरेर, राजस्व मारेर, लगत इष्टिमेट तानतुन पारेर, काम बिगारेर, बदनियत र अख्तियारको दुरुपयोग गरेर, थैलाको थैला घुस खाने, ख्वाउने चलन नेपालमा त्यसबेला छँदै थिएन ।
पाएको महिनावारीले सबैजसो कर्मचारीलाई एकपेट मनग्य खान पुग्दथ्यो । रसरंग, भडकिला, खर्चिला चाल–चलन, औकात नाघेर लगाउने, खाने बानी र महंगी त्यस बेला थिएन । राष्ट्रसेवकहरु अनुशासित, लगनशी र समर्थित मात्र हैन व्यवहारिक र राजभक्त जस्ता देखिन्थे ।
निजामति कर्मचारीको सेवाको हद नतोकिएकाले कर्मचारी प्रायः कहिले पनि सेवा मुक्त हुँदैनथे । उमेरहद नभएकाले पहिले पल्टनमा मात्र जागीर खान खोज्नेहरु पनि निजामतितिर मोडिन थालेका थिए । कर्मचारीहरु काम बिग्रेला र बाबुबाजेको नाम जाला भनेर खुब डराउथे ।
काममा शंका लाग्न साथ कर्मचारीका पजनीमा खोसिन्थ्यो । घुसको पैसा परालको आगो, मुतको न्यानो र असत्को धन भएकाले धेरै दिन टिक्दैन भन्ने आम धारणा थियो ।
साभारः त्यस बखतको नेपाल