काठमाडौं, ७ जेठ। तनहुँ जिल्लाको व्यास नगरपालिका–३, दमौलीमा गएराति भीषण आगलागी भएको छ ।
दमौलीको मुख्यचोकमा रहेका फलफूल पसलहरुमा आगलागी भएको हो। आगलागीबाट २० वटा सटल जलेर नष्ट भएको तनहुँको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।
आगलागीबाट मानवीय क्षति भएको छैन तर लाखाँै मूल्य बराबरको भौतिक क्षति भने भएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तनहुँका सांसद स्वर्णीम वाग्लेले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दछु।’