काठमाडौ, १३ जेठ। सरकारविरुद्ध नेपाली कांग्रेस सडकमा उत्रिएको छ। सहकारी ठगीविरुद्धमा कांग्रेसले आइतबार(आज) काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको हो ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै संसदमा नाराबाजी गरेको कांग्रेसले अब सडक आन्दोलनमा उत्रिएको छ।
गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ ।
संसदमा कांग्रेसको नाराबाजीका बिच सरकारले जबरजस्ती संसद सुचारु गरेपछि नेपाली कांग्रेस सडकमा उत्रिएको हो । गत बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको काठमाडौँ, ललितपुर र भक्तपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे नारा अगाडि सारको छ ।