काठमाडौं, २५ वैशाख। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीेले उद्योगलाई प्रवद्र्धन गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । ‘स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न हामी तयार छौँ । बजेटमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ ।’ यसमा थप्दै उनी भन्छन्,‘स्वदेशी सामान खरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ।’
जीडीपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि भण्डारीले बताए । ‘उद्योग क्षेत्रको योगदान जीडीपीमा घट्दै गएको छ। जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।’
अहिलेका रुग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।