गुल्मीमा हरि कँडेललाई सबैले ‘भेटनर हरि’ भनेर चिन्छन् । उनको घर गुल्मीदरबार गाउँपालिका–४ अमरअर्वाथोक, गुल्मी हो ।सामान्य किसान परिवारमा जन्मिएका हरि डाक्टर बन्न चाहन्थे । तर, घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको त्यो सपना भने सपना नै रह्यो ।
आफू नौ महिनाको हुँदा उनले बुवा गुमाउनु पर्यो । परिवारको जिम्मेवारी आमाको काँधमा आयो । आमाले दुःख–सुख गरेर पढाइन् ।हरिले गुल्मीमै एसएलसी पास गरे । इन्टर पढ्नका लागि पाल्पा झरे । १२ कक्षा पास भएसँगै उनलाई परिवारको जिम्मेवारी बोध हुन थाल्यो । उनको मनमा अब के गर्ने भनेर कुरा खेलिरहन्थ्यो । पाल्पामा रहँदा उनले साथीभाईको मुखबाट प्राविधिक शिक्षा पढ्यो भने छिट्टै काम गरेर पैसा कमाउन सकिन्छ भन्ने कुरा सुनेका रहेछन् । उनी भन्छन्, ‘साथी, आफन्तहरूबीच प्राविधिक शिक्षाको धेरै कुरा हुन्थ्यो । मलाई पनि के रहेछ भनेर जान्न मन लाग्यो । सानैदेखि डाक्टर बन्ने मन थियो । यसैमा कम समयमा पशुको भएपनि डाक्टर भइन्छ भनेर भेटेनरि पढ्न थालेँ ।’
त्यसपछि उनले पाल्पामा नै बसेर १८ महिने भेटेनरि जेटिए कोर्ष गर्ने निधो गरे । सानैदेखि मान्छेको उपचार गर्न खोज्ने उनी पशुको उपचार गर्ने डाक्टर बने। हरि भन्छन् ’पशु पनि त मानिस जस्तै हो । आफूलाई समस्या पर्दा मानिस बोल्न सक्छ भने पशु बोल्न सक्दैन, यति मात्र फरक हो । तर, तिनीहरूलाई पनि दुःख हुन्छ । समस्या पर्छ । तिनीहरूको लागि पनि त हामीले केही गर्नुपर्छ ।’
उनले आजभन्दा १७ वर्ष अघि अर्थात् २०६२ सालमा भेटेरिनरिको काम शुरू गरेका थिए । व्यवसाय गर्दा शुरूमा उनले १५०० रूपैयाँमा । पशुहरूको औषधि किने । झोलामा बोकेर घर–घरमा पुगेर बेच्न थाले । त्यो बेला गाउँमा कसैलाई पनि पशुको औषधी उपचार गर्नुपर्छ भने चेतना थिएन । उनले । सबैलाई यसबारे बुझाउन थाले । घर–घरमा पुगेर यसबारे जनचेतना जगाउन शुरू गरे । उनी भन्छन्, ’पशुहरू पनि मानिस जस्तै बिरामी हुन्छन्, उनीहरूको पनि औषधि उपचार गर्नुपर्छ ।’
त्यसपछि गाउँका सबैजनाले गाई, बाखा, भैंसी, कुखुरा, सुगुर, बंगुर, कुकुर लगायतका जनावरहरूको उपचार गराउन थाले । पशुहरूमा जे समस्या देखिएपनि सबैजनाले भेटेनरी हरिलाई सम्झन्छन् । उनी प्रत्येकको घरमा झोलामा औषधी बोकेर उपचारका लागि जान्छन् । त्यसपछि त उनी गाउँभरी नै भेटनरी हरि भनेर कहलिए।
प्राविधिक शिक्षा पढ्यो भने कहिले पनि बेरोजगार रहनु नपर्ने उनी बताउँछन् । अध्ययनपछि रोजगारी तथा स्वरोजगारी र आफैँले कमाएर थप दक्षता वृद्धि गर्नु नै प्राविधिक शिक्षाको मूल विशेषता हो । समाजमा नाम पनि रहने र आफ्नो आम्दानीसमेत राम्रो हुने कुरामा उनी विश्वस्त छन् । प्राविधिक शिक्षाले गर्दा परिवारसँग खुशीले बस्न पाएकोमा रमाइलो लागिरहेको उनी सुनाउँछन् । हरि गाउँघरमा अरूलाई पनि प्राविधिक शिक्षाबारे बुझाउने गर्छन् ।
सीप हुने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् । भन्छन्, ‘मिहिनेत गर्ने हो भने महिनाको ६० देखि ७० हजार नेपालमा नै कमाउन सकिन्छ । मैले पनि मासिक ६० देखि ६५ हजार रूपैयाँसम्मको आम्दानी गरिरहेको छु, अब त कोरिया जापानतिर बोलाएपनि जान्नँ ।’ उनी अहिले गुल्मीदरबार गाउँपालिका–४ अमरअर्वाथोकमा पशु प्राविधिक भएका छन् । अब उनी भेटरीनरीतर्फकै डिप्लोमा तहको कोर्ष अध्ययन गरी थप दक्षता हासिल गर्ने योजनामा छन् ।