क्या थियो त्यतिबेलाको नेपाल । वि.सं २०१४ सालसम्म नेपालको राष्ट्रसेना खजाना र हातहतियारमा स्वावलम्बी थियो । सप्तरीमा पाइने स्वडा, पहाडतिर ठाउँठाउँमा पाइने गन्धक, तराईमा उम्रने रहरको डाँठ,काठमाडौंमा पाइने बैंसको हाँगाले बिजुली बारुद बन्दथ्यो । बागलुङको तामाले केप, ठाउँठाउँमा पाइने सिसाले थरीथरीका गोली, ठोसेको फलामले बन्दुक र तोप बन्दथे । वि.सं.१९१२ सालसम्म पनि नेपालमा नै तयार भएका खरखजानाले, नेपालीले तिब्बतसँग सफलतापूर्वक लडेका थिए । त्यसभन्दा अघि अङ्ग्रेज, चीन, तिब्बत र भारतका रजौटाहरुसँग लड्दा पनि नेपालले विदेशबाट कुनै हातहतियार मगाएको थिएन । सबै किसिमका सामरिक हातहतियार त्यतिबेला नेपालमै बन्दथे ।
राइफल, तोप मेशिनगन, पिस्तोल नेपाली कालिगढले नै जमल, नख्खु र सुन्दरीजलमा तयार पार्दथे । त्यतिबेला हातहतियार बनाउने काम सिक्न केहीलाई जापान पनि पठाइएको थियो । जर्मन इञ्जिनियरलाई नेपाल झिकाएरसमेत सुन्दरीजलमा धुवाँ ननिस्कने बिजुली, बारुद र ब्रिटिश विशेषज्ञबाट बन्दुक बनाइन्थ्यो । देश रक्षामा नेपाल आत्मनिर्भर थियो ।
नेपाली युद्धकलामा जतिसुकै चतूर भए पनि आफ्ना छिमेकी राष्ट्रउपर कहिल्यै जाइ लागेन । कोही छिमेकी आइ लागे मात्रै जाइ लाग्ने तत्कालीन नेपालको परराष्ट्र नीति थियो । नेपालले एकाध बाहेक लडेका कुनैपनि लडाइ नहार्नुका कारण यही थियो । वीर नेपालीको नाम, घरघरमा पाउल हतियार, हतियार पाए लड्न सक्ने खुबी बारे सबै जानकार थिए । त्यसकारण नेपालका छिमेकी राष्ट्रहरुले सितिमिति नेपाललाई हात हाल्न आँट नै गर्दैनथे ।
साभारः त्यस बखतको नेपाल