काठमाडौं, २० जेठ। सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२४ जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

यस्तै २०२४ को मे महिनामा मात्रै ९० हजार २ सय ११ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ। यस्तै जनवरीमा ७९,१००, फेब्रुअरीमा ९७,४२६, मार्चमा १,२८,१६७ र अप्रिलमा १,११,३७६ पर्यटक आएका थिए।

नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन्। पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन्।

मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन्। दोस्रो स्थानमा चिनियाँ छन्। पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन्। मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ। जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो।

अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ। मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन्। अघिल्लो वर्ष यसै महिना अमेरिकाबाट ८ हजार ४ सय ५४ आएका थिए।

२०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन्। त्यहाँबाट कुल ३ हजार ४ सय ५८ नेपाल भ्रमणमा आएको तथ्यांक छ। बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन्। थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन।

कोभिड अघि २०१९ को मेमा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए। २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिएका थिए। कोभिड पछि २०२४ मा संख्या बढेको छ।

Facebook Comments Box