काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवहाक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता पनि भएको छ ।
सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन् ।
भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका रास्ट्रपती, बङ्गलादेशका तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्ने उल्लेख गरेका छन् ।
सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए ।
त्यही बेलाबाट भारतको छिमेक पहिलो अर्थात् ‘नेबरहुड फर्स्ट’ विदेश नीति चर्चा गरिएको थियो । दशकपछि यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।
मोदीको शपथ शनिबार हुँदैछ ।

Facebook Comments Box