हेड सरकी छोरीसँगको त्यो ‘लभ’

Avatar photo

Byरुरु संवाददाता

२५ जेष्ठ २०८१, शुक्रबार १३:४९

अच्युत शाली घिमिरे

ईन्जिनियरिङ क्याम्पसमा विद्यार्थी राजनीतिको सरगर्मी बढेकै थियो। बढ्नै पनि पर्यो, धेरै पछि अखिलको क्याम्पस कमिटि चयनका लागि चुनाव हुँदै थियो । आफ्नो दबदबा कायम गर्न सकिने हेतुका साथ सबैजना लागिपरेका थिए ।

मुलतः दुई वटा प्यानल प्रतिस्पर्धामा थिए । एउटा म अध्यक्ष उठेको प्यानल र अर्को एकजना लेडिज उठेको प्यानल । उनको नाम प्रतिभा थियो । तेस्रो वर्षसम्म पुग्दा समेत उनीसँग भेट नहुनुको एउटै रहस्य थियो, हामी फरक डिपार्टमेन्टमा थियौं । अनि उनी र म दुवै पहिला कतै कमिटिमा नबसेका मान्छेहरु थियौं । मनोनय दर्ता गर्ने अघिल्लो दिन उनको घर पनि धादिङ रहेको कुरा थाहा पाएपछि थप कौतुहलता ल्यायो । जिल्लाको सम्पर्क मञ्चमा पनि नाम त सुनेको थिएँ, तर भेट भएको थिएन ।

मनोनयन गर्न जाँदा हाम्रो प्यानल हुल बाँधेर गयो । नारा लगायो । ‘अखिलको शान, क्याम्पसको मान’ भन्दै मेरै नाम गुञ्जाईरहेका थिए । म पुलकित थिएँ । क्याम्पस कमिटिको चुनावमा, मनग्य खर्च हुने देखे पनि यत्तिको प्रशंसाले म खुशी नै थिएँ ।

उ अर्थात प्रतिभा, मनोनयन दर्ता गरेर कुर्चिमा बसिरहेकी थिई।म जाँदा बित्तिकै हाम्रो देखादेख भयो।त्यो आकृति अनि संगति संग मैले चित्त बुझाउनै सकिनँ । ‘हेड सरकी छोरी, तिमी प्रतिभा ?’ मैले प्रश्न गरेँ । उ मुसुक्क हाँसी । नचिनिने भएकी थिई । तर त्यो डिम्पल जहाँको त्यही थियो । मेरो मनोनयन दर्ता पछि हामी दुवै जनालाई हात मिलाउन आग्रह गरियो । मेरा हातले उनका हातको स्पर्श धेरै पछि गर्दै थियो । सबैजनाले ताली बजाए । तर म भने अन्धकारले छोपीएको थिएँ । संयोगहरु बाजा बजाएर आउँदा रहेनछन्, भगवानले दिएका सप्राइज प्रति नतमस्तक भएँ म ।

दुवै प्यानल सकभर सहमतीमा आओस् र निर्विरोध कमिटि चयन होस् भन्नेमा सबै साथीहरुको चाहाना थियो । त्यसै बमोजिम चिया खाँदै वार्ता गर्न मलाई र प्रतिभालाई क्यान्टिन पठाए । बाटोमा म एक शब्द पनि बोल्न सकिनँ । उ प्रश्न सोधिरहेकी थिई सायद । उसको पाईलामा धेरै पछि आफ्ना पाईला मिलाउन पाउँदा मैले उत्तर दिनै भुलें।हामी क्यान्टिन पुगेर टेबलमा बस्यौं । उ आफ्ना प्यानलका लिस्टहरुमा घोत्लिन थाली म भने फ्ल्यासब्याकमा पुगेछु ।

आठ कक्षामा हुँदाको कुरा हो । त्यतिबेला अर्कै रुप रंग, अर्कै रस र चेतना थियो । पढाई प्रति असिम घृणा र प्रेम प्रति मौन सहानुभूति थियो । पढाईमा आलु भएपछि ट्युसन त अपरिहार्य भईहाल्छ बा आमालाई । अनि हेड सरको घरमा बिहान बेलुका पढ्न जाने भनेर म्याथको ट्युसन हाल्दिनुभयो । बिहान उठेर कत्तिखेर आँखा पखालेर, दाँत माझेर आधा निद्रामा पुगिन्थ्यो हेडसरकोमा पत्तै नहुने । त्यहीं निकटता जम्या हो प्रतिभा सँग।क्लासमा अक्सर अन्तिम बेन्चमा बस्ने म, अघिल्लो बेन्चमा बस्ने उनी सँग मुखामुख नै हुन्थेन । घरमा हेडसरले आफ्नी छोरीलाई समेत संगै राखेर हामीलाई ट्युसन पढाउँनुहुन्थ्यो । एक्लो सन्तान थिई प्रतिभा।हडेसरकी मायाकी खानी । बोलीमा त मह नै मिसिए जस्तो थियो उसै माथि क्लासको टपर । माया प्रेम उनका आचरण, अनुशासन र प्रतिष्ठाका अघि टिकदैन्थे जस्तो लाग्थ्यो । प्रतिभाकी आमा उनी सानै हुँदा बितेकी । अर्को बिहे नगरी छोरीको रेखदेखमा हेडसरले समय बिताएका थिए ।

एकदिन ट्युसन चाँडै पुग्दा प्रतिभालाई उनकी आमाको फोटो अघि सुकसुकाउँदै रोएको देखेँ । त्यसपछि त उनी पनि हामी जस्तै भावनात्मक रैछिन् जस्तो लाग्यो।हेडसरको जस्तो कठोर रैनछ उनको मुटु।हेडसर अक्सर हिसाब बिग्रदा हाम्रा हातमा लठ्ठी बर्साउँथे । हामी डरले सातबित्ता पर भाग्थ्यौँ ।

प्रतिभाका मिहीन सौन्दर्य र गूढ रहस्यमा म डुब्न थालें।हेडसर ट्युसनमा हिसाब गर्न लगाएर तरकारीबारी गएको बेला म उनलाई हेरीबस्थेँ । गणित सूत्र जस्तै कठिन सूत्रहरु प्रयोग गरेर उनलाई सिकर्मी रुपी भगवानले बनाए जस्तो लाग्थ्यो । जब उ मेरो बिग्रिएको हिसाब मिलाउन अग्रसर हुन्थी म मा चन्द्रोदय हुन्थ्यो । उनले सिकाएका कुराहरु फटाफट छिर्थे दिमागमा ।

तिहार ताका क्लासका सबैजना मिलेर भैलो खेल्ने भयौं।पढाईमा नजान्ने भए पनि म नाँच्न गाउन खप्पिस थिएँ । उनलाई बल्लतल्ल हेडसरले खेल्ने अनुमति दिएछन्।नाँच्न उनलाई रहर जाग्यो । हामी जोडी भएर नाँच्यौं । हातमा हात समातेर नाँच सिकाउँदा सिकाउँदा म नजानिंदो किसिमले उनीमा बाँधिएँ । उ पनि बिस्तारै सम्बन्धको बन्धनमा ओर्लिन तयार थिई ।

भैलोको पैसाले नदी किनार पिकनिक जाँदा हामी धेरै बेर बन तिर हरायौं । नव–नव रंग रंगेली कल्पनाहरुमा रमायौं । आफू भित्रको प्रेम उद्घाटित गर्यौं । हावाका पानाहरुमा नमेटिने रचना गर्यौं।आकासका छानाहरुमा खिया नलाग्ने प्रेमिल छायाहरु देख्यौं ।

पिकनिक गएकाहरुले गाउँभर हल्ला चलाए।हामी दुईको सम्बन्ध एकातिर थियो भने हेडसरकी छोरी बिग्रिछे भन्ने कथन अर्को तिर थियो।हेडसरले सुने नसुने झैं गरेका थिए यी हल्लाहरु । किनकि छोरी माथि त्यति विश्वास थियो सरको ।

हेडसरको व्यस्तताले ट्युसन बन्द भयो । स्कुलको वार्षिकत्सवमा समेत हामी दुई जोडी भएर नाँच्यौं । हेडसरले अघिल्लो पंक्तिमा बसेर आँखा तर्काई तर्काई हेरेँ । प्रतिभा र म स्कुलमा पनि छुट्टिएर रहन सकेनौं । एउटै बेन्चमा बस्न थाल्यौं । अघिल्लो बेन्चबाट उनी लास्टमा म सँगै बस्न भनेर आई । क्लासका अरु डाहाले मर्थे । हेडसरको क्लासमा भने हामी छुट्टिन्थ्यौं । तर एकदिन हेडसर अरु सरको क्लास सापटी लिएर पढाउन आउनुभयो र हामी पक्रिंयौ।हामीलाई एउटै बेन्चमा टाँसिएर बसेको देखेर हेडसरले पढाउँनै सक्नुभएन । प्रतिभालाई नजानिंदो तरिकाले व्यंग्य कसेर केही अर्ति उपदेश दिएर बाहिरिनुभयो । त्यसपछि हामी दुईको बाटोले नयाँ मोड लियो ।

प्रतिभा घर पुगेपछि, हेडसरले छुट्टै ईमोसनल बाचा गराएर म सँग भेट्न प्रतिबन्ध लगाए । बाले गरेको त्यागका अघि प्रतिभा मञ्जुर हुन बाध्य भई । परीक्षा नजिकिएकाले पढाईमा व्यस्त भई प्रतिभा । आठ कक्षाको वार्षिक परीक्षाको नतिजा आउँदा म म्याथमा फेल भएँ ।र प्रतिभा प्रथम भई । यो चोटी हेडसरले म्याथको प्रश्न एकदम गाह्रो निकालेका थिए र अरुलाई केही अंक थपेर पास गराईदिए पनि मलाई भने जानाजान फेल गराएको आभास म मा भयो । अनि मैले गाउँ छोड्ने निर्णय गरेँ।काठमाडौंका लागि गाडी चढ्नै लाग्दा रोड माथि खेतका कान्लामा मलाई अन्तिम बिदाई गर्न प्रतिभा आएकी थिई । मेरो जिवनमा त्यतिबेला अन्धकार छाएको थियो । उता मन परेको मान्छेलाई नपाउनु अनि पढाई अस्तव्यस्त हुनु । म भित्रको आकासमा बादल बाक्लिएर भएको अन्धकार, घनघोर वर्षा संगै हट्ने आसा लिएर मैले गाउँ छोडेँ ।

बाहिर पानी परिरहेको थियो । चियाबाट एक तमास बाफ उडिरहेका थिए।प्रतिभा मलाई चिया खान आग्रह गरिरहेकी थिई । म वर्तमानमा ओर्लिएँ र चियाको चुस्की संगै विगत भुलाउन खोजेँ । तर खै ! विगतको अहम भावले जरा गाडेको रैछ र त मैले अध्यक्षमा आफ्नो नाम फिर्ता लिन सकिनँ । प्रेममा पाएको धोकालाई मैले आत्मसम्मानमा जोडेको थिएँ । प्रतिभा पनि उस्तै थिई । सीमा मन पर्दैन थ्यो उसलाई, उड्न चाहन्थि, केही टिप्न चाहन्थि । चिया खाएर उठ्दा सम्म हामी घोर प्रतिस्पर्धी भयौं । मिठो बोलेर औपचारिकता मा एकअर्काका कुराहरु चोरेर एकअर्काकालाई हराउन तत्पर हुने भयौं । एकजमाना यस्तो थियो, जतिबेला म उनका लागि काँडामा जेलिएको ऐंसेलु टिप्थें भने उ मेरा लागि बाको अनुशासनको जन्जिर त्यागथि । अहिले हामी ठुला भएछौं र अन्तर्झिल्का, अन्तर्ध्वनि बिर्सिएछौं ।

चुनाव भयो । माथि केन्द्रीय कमिटिबाट समेत हस्तक्षेप भयो भोटका लागि।भावी नेतृत्व नारीको हातमा भन्ने उनको नाराले सार्थकता पायो र उनको जीत भयो।नतिजा घोषणा सभामा एउटै मञ्चमा बसेर उनी रातै अबिरमा पोतिएर भाषण गरेको हेरी रहेँ । जसरी हेरीबसेथी उसले कान्लामा बसेर म काठमाडौं जाँदै गरेको दृश्य।हेड सरले भन्ने गर्थे, ‘मेरी छोरी जहाँ गए पनि जित्छे,बुवाको प्रेरणामा चल्छे ।’ फेरि सत्य सावित भए हेडसर । प्रत्यक्ष रुपमा प्रतिभासँग हारे पनि अप्रत्यक्ष रुपमा फेरि पनि हेडसर सँग हारें म । ‘अब म भागेर कहाँ जाउँ हेडसर?’ मैले मनमनै पुकारेँ ।

Facebook Comments Box