काठमाडौं, ३० जेठ। देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशका ७१ वटा जिल्लामा डेंगु फैलिएको जनाएको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ ।
मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ ।

नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन विज्ञले सुझाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार वर्षभर नै डेंगुको जोखिम रहन्छ । जसमध्ये मनसुनमा यसको जोखिम बढेको देखिएको हो । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन् अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एक साता अघिमात्रै ६८ जिल्लामा डेंगु सङ्क्रमण देखिएको थियो । हाल ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ । ६ महिना (जनवरी–जुन ९ गते) को अवधिमा ११ सय ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ ।

डेंगुको जोखिम बर्खामा बढी
ईडीसीडीको तथ्याङ्क अनुसार सन् २०२३ मा डेंगु सङ्क्रमणको जोखिम बाह्रै महिना देखिएको थियो । यो वर्ष (सन् २०२४) मा पनि हालसम्म डेंगुको सङ्क्रमण नभएको कुनै महिना नरहेको तथ्याङ्कले देखाएको छ । गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा यो वर्ष पनि डेंगु रोगको प्रकोप मनसुनमा बढ्ने अनुमान गर्न सकिन्छ ।

सन् २०२३ को जनवरीमा १३३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । यस्तै, फेब्रुअरीमा १३० जना डेंगु सङ्क्रमित भएका थिए । मार्च महिनामा १९५, अप्रिलमा १५८ र मे महिनामा १६३ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।

सन् २०२३ को हिउँद महिनामा दुई सयभन्दा कम सङ्ख्यामा देखिएको डेंगु सङ्क्रमण मनसुन अर्थात् बर्खा याम सुरु भएलगत्तै सङ्क्रमितको सङ्ख्या बढेको छ । जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यस्तै, जुलाईमा ६ हजार ४५९ जना डेंगु प्रभावित भएका थिए ।

अगस्ट महिनामा १४ हजार ५३४ जना, सेप्टेम्बरमा १३ हजार ९१२ जना र अक्टोबरमा १२ हजार ६९९ जनालाई डेंगु देखिएको थियो । गत वर्षको तथ्याङ्कमा अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा सबैभन्दा बढी सङ्ख्यामा डेंगु सङ्क्रमण भएको देखाएको छ ।

नोभेम्बरबाट डेंगुको सङ्क्रमण घटेको छ । यो महिनामा २ हजार ८०५ जना सङ्क्रमित भएका थिए । डिसेम्बरमा ५७६ जनालाई डेंगु पुष्टि भएको थियो ।

यो वर्ष (२०२४)को मनसुन सुरु भएको छ । मनसुनमा डेंगु रोग लगायत विभिन्न रोगको सङ्क्रमण फैलिने जोखिम उच्च रहेको चिकित्सकको तर्क छ ।

यो वर्षको जनवरीमा २४३ जनामा डेंगु देखिएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, फेब्रुअरीमा १७३ जनामा, मार्चमा २ सय जनामा, अप्रिलमा २१५ जनामा, मेमा २५१ जनामा, जुन (९ गते) सम्म ४८ गरी ११३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

अब मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने चिकित्सकहरू बताउँछन् ।

 

Facebook Comments Box