गुल्मी । जिल्लाका ११ हजार बालबालिकालाई पोलियो भाईरसविरुद्धको खोप लगाइने भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका ती बालबालिकालाई पोलियो भाईरस विरुद्धको आईपीभी खोप लगाउन लागिएको हो । यहि जेठ २१ गते बालबालिकालाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गुल्मीका ३९२ खोप केन्द्रमा साढे ५ वर्षदेखि ८ वर्ष उमेर समूहका १० हजार ८ सय १० जना बालबालिकालाई आईपीभी  खोप लगाउन लागिएको जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले आईपिभी खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका सञ्चारकर्मीहरु सँग अन्तरक्रियासमेत गरेको छ ।

२०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएर यस खोपबाट बञ्चित भएका तथा एकवर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा परेकालाई खोप दिन लागिएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए । त्यसका लागि स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ ।

पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ । जिल्लाका सबै पालिकामा जेठ २८ गतेसम्म आईपिभी खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले संचालन गरेको उक्त अभियानलाई सफल बनाउन सबैले आफ्नोतर्फबाट आवश्यक सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । यस अभियानको लागि निर्धारण गरिएको उमेर सुमहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने भएको छ ।

ग्रामीण क्षेत्रका सबै गाउँबस्तीमा सुचना प्रवाह गरेर खोपबाट छुटेका बालबालिकालाई अनिवार्य सहभागी बनाएर यो अभियान सफल पार्ने दायित्व सबैको रहेको समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए । उनले जिल्लामा केही सडक बालबालिका पनि रहेकाले उनीहरुलाई पनि यो खोपमा समावेश गर्न आग्रह गरेका छन् ।

पोलियोरोगको पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरेपनि नेपालमा हालसम्म शून्य छ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ सरकारले यो अभियानलाई राष्ट्रव्यापी रुपमा सञ्चालन गर्ने भएको छ ।

Facebook Comments Box