काठमाडौं, ११ असार। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट ल्याउने प्रयास भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।

उनले जीबी राई पक्राउ ब्यग्र प्रतीक्षाको विषय भएको भन्दै उनले कूटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे ।

उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्रसमेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको ८ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातलबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए ।

त्यस्तै उनले विभिन्न प्रकरणका फाइलहरू आफूले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए ।

लामिछानेले गिरिबन्धु टी–स्टेट प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उजुरीको प्रतीक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

लामिछानेले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक र बाँसबारी जुत्ता लगायतका फाइलहरू खुलेको पनि जानकारी दिए ।

Facebook Comments Box