काठमाडौं, २५ जेठ। महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ ।
कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् । पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् । बाग्लुङ्गका सापकोटा २७ पोर्चुगल पुगेका थिए ।
कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा शेयर गर्दै प्रस्तोता राजेश हमालले लेखेका छन्, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुनेछ यो नेपाली शिर उचाली’ । कार्यक्रम मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि. ले संयुक्त रुपमा उत्पादन गरेको हो । कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथाहरु संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसंग भएको ज्ञान र सिपलाई स्वदेशसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ ।