गुल्मी, ११ असार । गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गरेको छ । बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन् । गाउँसभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि कूल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले बजेट सार्वजनिक गरेकी हुन् ।

कुल ५६ करोड ९१ लाख ७८ हजार बजेट मध्ये चालु खर्च तर्फ ३७ करोड ६६ लाख ८८ हजार छुट्टाईएको छ भने पुँजिगत खर्च तर्फ १८ करोड २४ करोड ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट पेश हुनु अघि गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले २०८० साल वैशाख २८ गते नीति तथा कार्यक्रम पेश गरेका थिए ।

आगामि वर्षको बजेटमा गाउँपालिकाका सडकहरुलाई स्तारोन्नती गर्ने, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने, रोजगारी र स्वरोजगारी सिर्जना गरी आयआर्जनमा वृद्धि गर्ने, पूर्वाधार निर्माण र पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्ने, विपन्न नागरिकको स्वास्थ्य बिमा गर्ने, विद्यालयहरुमा प्रविधिमैत्री शिक्षाको लागि डिजिटल स्मार्ड बोर्डको व्यवस्था गर्ने, आगामि वर्ष पालिकामै वर्षमा ४० जनाको लागि रोजगारी सिर्जना गर्ने, सर्वसुलभ उपचारको व्यवस्था गर्ने, मासिक रुपमा डाक्टर सहितको स्वास्थ्य परीक्षण गर्ने, जेष्ठ नागरिक, असहाय, असक्त, क वर्गका अपाङ्ता भएका नागरिकको घरघरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने, कृषि उत्पादनको बजारीकरणमा विषेश ध्यान दिने , गाउँघरमा विभिन्न लघु उद्योगहरु सञ्चालन गर्ने कुरा बजेटमा समेटिएको छ ।

यसका साथै नागरिकको गुनासो र सुझाव २४ सैं घण्टा सुन्न गुनासो सुनुवाइ प्रणालीलाई व्यवस्थित गरिने भएको छ। इदि कुनै गुनासा, सुझाव केही भएमा ०७९५४१०१५ मा सम्पर्क गर्न सक्ने व्यवस्था पनि मिलाएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले ल्याएको बजेटमा शिक्षाको लागी ३ करोड २४ लाख ९० हजार रुपैयाँ, स्वास्थ्यमा १ करोड १९ लाख ७० हजार रुपैंया, उद्योग तथा वाणिज्यको लागि २० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले गाउँपालिका स्तरीय एक घर एक धारा कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरघरमा खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको समेत जानकारी गराएको छ।

यस्तै गाउँपालिका भित्रका धार्मिक सांस्कृतिक क्रियाकलापलाई प्रवर्धन गर्नको लागि विभिन्न मठ मन्दिर निर्माण तथा मर्मत सम्भार को लागि आवश्यक रकम विनियोजन गरेको छ ।गाउँपालिकाले ऐतिहासिक धार्मिक क्षेत्र रुरुक्षेत्र पूर्वाधार निर्माणको लागि १ करोड १३ लाख रकमको व्यवस्था मिलाएको समेत जनाएको छ ।

गाउँपालिकाले विनियोजन गरेको बजेटमा सबै नागरिकलाई विद्युत सेवाको सुनिश्चित गर्न न्यूनतम २० युनिटसम्मको विद्युत महसुल गाउँपालिकाबाट भुक्तानी गर्ने भएको छ जसको लागि १५ लाख रकम छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गौतमले बताएका छन् । यस्तै खेलकुद क्षेत्रलाई चलायमान गराउन ५ लाख रकम व्यवस्थापन गर्दा खेलकुद प्रवर्धनको लागि १० लाख ५५ हजार रकम विनियोजन गरेको छ।

जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनको लागि ३ लाख रकम विनियोजन गरेको जनाएको छ । यसैबीच गाउँपालिकाले लागत साझेदारीमा रुरु कृषि परियोजना सञ्चालनको लागि १ करोड १५ लाख बजेट विनियोजन गर्दा कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रमको लागि ८४ लाख रुपैयाँ तथा कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालनको लागि ६ लाख रकम विनियोजन गरेको छ।

गाउँपालिकाले विभिन्न महामारी, रोगको रोकथाम तथा प्रकोप नियन्त्रणको लागि विपद व्यवस्थापनको स्थापना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

गाउँपालिकाले महिला दलित आदिवासी जनजाति एकल नागरिक र सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ विनियोजन गरेको छ।

 

Facebook Comments Box