गुल्मी, असार ११ । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईई २०७९ मा गाउँपालिका प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी र सामुदायिक विद्यालय तर्फ गाउँपालिका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी सँगै ३.६ जीपीए वा सो भन्दा माथि ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

समग्रमा ३.९५ जिपिएसहित गाउँपालिका प्रथम हुने रेन्बो बोर्डिङका निरज श्रेष्ठ, ३.८५ जीपीएसहित गाउँपालिका द्वितीय हुने ज्ञवा माविकी छात्रा सलिना ज्ञवाली, रेन्बो बोर्डिङका मुकेश ज्ञवाली र रेन्बो बोर्डिङकै कनिशा श्रेष्ठ सम्मानित भएका हुन् । त्यसैगरी, ३.८४ जीपीएसहित तेस्रो हुने जनबोध माविकी छात्रा अंशु ज्ञवाली सम्मानित भएका हुन् ।

यसैगरी, सामुदायिक विद्यालयतर्फ ३.८५ जीपीएसहित प्रथम तथा समग्र गाउँपालिकामा दोस्रो हुन सफल ज्ञवा माविकी छात्रा सलिना ज्ञवाली सम्मानित भएकी छन् भने जनबोध माविका प्राविधिक धारतर्फका ३.८४ जिपिए सहित दोस्रो हुन सफल छात्रा अंशु ज्ञवाली र प्राविधिक धारतर्फकै ३.८ जिपिए सहित तृतीय हुन सफल परिक्षा ज्ञवाली पनि सम्मानित भएकी छन् ।

त्यस्तै गाउँपालिकाले २०७९ सालको माद्यामिक परिक्षा एसईईमा ३.६ वा सो भन्दा माथी जिपिए ल्याउने सम्पुर्ण विद्यार्थीहरुलाई सम्मानित गरेको छ। यसरी जम्मा १६ जना विद्यार्थीहरु सम्मानित हुन सफल भएका हुन् ।पालिकाले विद्यार्थीलाई मात्र नभई उत्कृष्ट नतिजा ल्याउन अथक मिहिनेत गर्ने विद्यालयका शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।

विभिन्न विषय अध्यापन गर्ने विभिन्न विद्यालयका कुल १३ जना शिक्षकलाई पनि विद्यालयले सम्मान गरेको छ । यसैगरी गत वर्ष सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट हुन सफल विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रममा रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाइ दिँदै अबदेखि गाउँपालिकामा मात्र नभएर समग्र देशमै उत्कृष्ट नतिजा ल्याउनेगरि पठनपाठन संचालन गर्नसमेत विद्यालय लगायत शिक्षक विद्यार्थीलाई अनुरोध गरेका छन् । यसका साथै शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउनको लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने बताएका छन् ।शिक्षक एवं विद्यार्थीहरुमा रहेका र भोगेका समस्या समाधानमा गाउँपालिकाले कुनै कसुर नराख्ने बताउँदै ढुक्क साथ गुणस्तरीय पठनपाठनमा सक्रिय हुन अनुरोध गरेका छन् ।

 

Facebook Comments Box