गुल्मी । नेकपा एमाले गुल्मी जिल्ला कमिटीको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार हिरा एसीलाई काउछाले १८४ मतले पराजित गरेका हुन् । काउछाले कुल ५९५ खसेका मतमा ३८४ मत प्राप्त गरेका छन् भने एसीले २०२ मत पाएका छन् । निर्वाचित काउछा गुल्मी एमालेका निवर्तमान अध्यक्ष समेत हुन् ।

नेकपा एमाले पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सुर्य थापाको निर्वाचित अध्यक्ष काउछालाई समर्थन थियो । पदाधिकारीमा पनि काउछा प्यानलकै उम्मेदवार विजयी भएको प्रमुख निर्वाचन अधिकृत गोपाल खनालले जानकारी दिए । उपाध्यक्षमा जीवन खरेल ३४८ , सचिव धर्म विश्वकर्मा ३७१, उपसचिवमा चक्रबन्दु भुसाल ३४८ प्राप्त गरेर निर्वाचित भएका थिए । उपसचिव (महिला) लक्ष्मीदेवि पन्थ सर्वसम्मत निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा गणेश श्रीपाली १५५, सचिव पदमप्रसाद अर्याल १९०, उपसचिवमा ओम बहादुर कार्कीले २१६ मत प्राप्त गरेका छन् । निर्वाचित उपाध्यक्ष खरेल मुसिकोट नगरपालिकाका नगरप्रमुख समेत हुन् । नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिबेशन जेठ २९ गतेदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको थियो । नेतृत्व चयनमा पदाधिकारीका आकांक्षीले आफ्नो अडान नछोडेपछी निर्वाचन हुन पुगेको एमाले गुल्मीले जनाएको छ ।

यस अधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षका उम्मेदवार निर्वाचनमा होमिएका थिए। अध्यक्ष एसीकाे प्यानललाई नेकपा एमाले पार्टी केन्द्रिय सचिव गोकर्णराज बिष्टको समर्थन रहेको थियो । १२ औं अधिवेशनका लागि जिल्लाका ९३ वटा वडातहबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका थिए। त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि रहेपनि कार्यक्रममा ६१३ जना प्रतिनिधि सहभागी भएका थिए। अधिबेशनको समय लम्बिएकाले केही प्रतिनिधि घर फर्किएका थिए।

त्यस्तै सदस्यहरु केही सर्वसम्मत निर्वाचित भएका छन् भने कतिको मतदान भएको थियो । अहिले सदस्यको सदस्यको मतगणना चलिरहेको छ । मतगणना आज दिउँसो ११ बजेसम्म सकिने आकलन प्रमुख निर्वाचन अधिकृत खनालले जानकारी दिए । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने पदाधिकारी चयनमा सहमती जुट्न नसकेपछि मतदान नै भएको हो ।

Facebook Comments Box