गुल्मी, १७ असार। छत्रकोट गुल्मीस्थित श्रृङ्गा जनता माविले असार १६ गते एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मानित गरेको छ।
कार्यक्रममा गाउँपालिका प्रथम र जिल्ला तृतीय हुने प्रशान्त कडेलसहित चार जना विद्यार्थीहरूलाई ३.६ जिपिए भन्दा माथिको नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको हो । यसका साथै विशेष क्षमता भएका ऋषिराम कंडेललाई विशेष सम्मान गरिएको छ । उनले खुट्टाको दुई औँलाको मदतले परीक्षा दिएर ३.३७ जिपिए प्राप्त गरेका छन् । त्यसैले उनलाई अझ विशेष सम्मान गरिएको छ ।
यस कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले ऋषिरामको कक्षा १२ सम्मको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने घोषणा गरेका छन्। साथै, गाउँपालिकाभित्रकै अन्य माविमा अध्ययन गर्ने र ३.२ जिपिए भन्दा बढी ल्याउने विद्यार्थीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र भेटेरिनरी पढ्न चाहने विद्यार्थीहरूलाई पनि निःशुल्क शिक्षा प्रदान गर्ने तर दुई वर्ष गाउँपालिकामा सेवा गर्नुपर्ने नियम लागू हुने बताए।
कार्यक्रमका सभाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेलले नतिजाका लागि अहोरात्र खटिने विद्यार्थी, शिक्षक, अभिभावक, सहजिकरण र सहयोग गर्ने पाउँपालिका, शिक्षा शाखा र सम्बन्धित सरोकारवालाई धन्यवाद दिँदै अनुर्तिण विद्यार्थीलाई पुनः प्रयास गर्न आग्रह गरेका छन् ।