गुल्मी, २३ असार। अविरल वर्षासँगै गएको पहिरोले गुल्मीको रिडी तम्घास सडक अवरुद्ध भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ बिरबासस्थित रिडि–तम्घास सडकखण्ड (मदन भण्डारी राजमार्ग ) ढुङ्गा माटोसहितको पहिरोले अवरुद्ध भएको हो ।
रिडी तम्घास सडक गुल्मी सदरमुकाम आउने मुख्य सडक हो । यो सडकमा अहिले स्तरोन्नतिसहित निर्माण कार्य हुँदै आएको छ । सडक निर्माणकार्य भइरहेकाले सवारी साधनहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।
त्यस्तै वर्षाले रुरु–४ कालिका मोडस्थित रिडि–तम्घास पक्की सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
तम्घास–सिमलटारि सडकखण्डमा पूर्ण रुपमा अवरुद्ध भएको छ । मालिका गाउँपालिका ७ घमिर खोला र वडानम्बर ६ फुलबारी खोलामा पानीको वहाब बढ्दा यो सडक अवरुद्ध भएको हो ।
सत्यवति गाउँपालिका–६ उर्लिखोलामा पनि पानीको बहाव बढ्दा सडक अवरुद्ध छ । सत्यवती कै ठुलोलुम्पेकमा पहिरोले एउटा घर पुरेको छ भने रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको छ ।
चन्द्रकोट गाउँपालिका–८ टेलिमिल र मजुवा बजार खण्डमा पनि सडक अवरुद्ध भएको छ ।
पानी परिरहेकोले अवरुद्ध सडक खुलाउन समस्या भइरहेको छ ।
गुल्मीको ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।