गुल्मी, १३ साउन । पछिल्लो समय गुल्मी जिल्लामा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार जिल्लामा बर्सेनी भइरहेका नयाँ दर्ता र लगतकट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको दर्ता घट्दै गएको पाइएको हो । यसको अर्थ जिल्लामा वर्षैपिच्छे घरेलु तथा साना उद्योग बन्द हुँदै छन् भन्ने हो । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकारका ३ सय १२ घरेलु तथा साना उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा १ सय १३ दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष ०८०/८१ मा ७३ वटा उद्योग मात्रै दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा उत्पादनमुलक उद्योग २८, कृषि तथा वनजन्य उद्योग १८८, सेवामूलक उद्योग ५०, सूचना तथा प्रविधिमूलक ४६ गरी ३१२ उद्योग दर्ता भएको छ। त्यस आर्थिक वर्षमा नयाँ उद्योग दर्ता भन्दा नवीकरणको संख्या धेरै रहेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार हेर्दा सो आर्थिक वर्षमा ३३१ उद्योग नवीकरण गरिएको रहेछ भने १६३ उद्योगको लगतकट्टा गरिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा उत्पादनमुलक उद्योग ९, कृषि तथा वनजन्य उद्योग ५९, सेवामूलक उद्योग १७, सूचना तथा प्रविधिमूलक २८ गरी ११३ उद्योग दर्ता भएको छ । त्यस आर्थिक वर्षमा पनि उद्योग नवीकरण संख्या धेरै छ । जसमा २२६ उद्योग नवीकरण गरिएको छ भने १३२ उद्योगको लगतकट्टा गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा उत्पादनक मूलक ११, कृषि तथा वनजन्य उद्योग २७, सेवामूलक १३, सूचना तथा प्रविधिमूलक २२ गरी ७३ उद्योग वटा दर्ता भएको देखिन्छ । त्यस आर्थिक वर्षमा पनि नवीकरणको सख्ंया धेरै छ । घिमिरेका अनुसार २९५ उद्योगको नवीकरण गरिएको छ, भने १५९ उद्योगको लगतकट्टा गरिएको छ ।