काठमाडौं, २५ असार। रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् ।

दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।

Facebook Comments Box