काठमाडौं, २७ असार । नेपाल नेत्र ज्योति संघले गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पीडितहरुका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।बुधबार नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासमा एक औपचारिक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुलाई रु.५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ईश्मा गाउँपालिका अध्यक्ष खड्काले विपदमा सहयोग गरेको भन्दै नेत्र ज्योति संघलाई धन्यवाद गरेकी छन् । “सामाजिक संघ संस्थाहरु आफैले रकमहरु जम्मा गरेर यस्ता संघसंस्था सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । त्यसमा आफै संस्थाले पैसा संकलन गरी हामीलाई जुन सहयोग पुर्याउनुभयो, त्यसका प्रति हामी आभारी छौं ।” अध्यक्ष खड्काले भनिन् । विगतमा दुई वर्ष देखि अत्यन्तै सहयोग पुर्याउँदै आएको बताउँदै नेत्र ज्योति संघसँगको सहकार्यमा इस्माका करिब ६७ जना नागरिकहरुले मोतिया बिन्दुको शल्यक्रिया मार्फत पुर्नदृष्टि प्राप्त गरेका बताएइन् । उनने भनिन्, ‘यहाँआएपछि पछिल्लो पटकको शिविरमा इस्माकी ९७ वर्षिय आमाले फेरी पुर्नदृष्टि प्राप्त गर्नुभएकोले यहाँहरुले प्रदान गरेको शल्यक्रिया सेवाले अत्यन्तै हर्षित बनाएको छ ।’ आगामी दिनमा पनि सहकार्य, समन्वय र इस्माका नागरिकहरुलाई आँखा सम्बन्धी उपचारहरुमा अरु रचनात्मक कामहरुको पनि खोजी गरेर आपसी छलफलद्वारा अगाडी बढ्ने समेत बताएकी छन् ।
नेत्र ज्योति संघले आँखा उपचारसँगै विपद्का घटनामा राहत तथा सहयोगका कार्यहरु समेत गर्दै आइरहेको सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताएका छन् । उनले भने, ‘गत बैशाखमा गुल्मी जिल्लामा धेरै आगलागीका घटनाहरु भए त्यसमध्येमा इश्मामा पनि धेरै क्षति भयो । नेपाल नेत्र ज्योति संघले केन्द्रबाट सहयोग गर्दै आइरहेको छ ।’ यसका साथै जिल्ला आँखा उपचार केन्द्रलाई सेकेण्डरी आई हस्पिटलका रुपमा स्तरोन्नतीका लागि आफुहरु लागि परेको बताएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ८९३ जनाले आँखाको उपचार गराएका छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासबाट १२ हजार ९५७ जनाको आँखाको जाँच गरिएको छ । मुसिकोट नगरपालिका वामीमा रहेको आँखा उपचार केन्द्रबाट ३ हजार २, चन्द्रकोटमाको शान्तिपुरमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ६०२, मालिका गाउँपालिकाको सिमलटारीमा रहेको आँखा उपचार केन्द्रबाट ८६०, मदानेमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ४७२ जनाले आँखाको सेवा लिएका छन् ।