के अब माओवादी र रास्वपा सकिएलान् ?

Avatar photo

Byरुरु संवाददाता

१८ असार २०८१, मंगलवार १८:३२

नारायण गाउँले 

 

एमाले–माओवादी मिलेर दुई पाइलटवाला नेकपा बन्यो, देश वाममय भयो । सानातिना पार्टी बत्तीमा पुतलीजस्तै नेकपासँगै होमिए ! एक मुठी सांसदमात्रै बाँकी बचेको कांग्रेस अब सकियो भन्ने थियो, तर सकिएन !

ओलीको उद्दण्डता र अहम् ले गर्दा झन्डै दुईतिहाई नजिकको नेकपा फुट्यो, एमाले नै पनि फुट्यो । केन्द्रदेखि प्रदेशसम्म सरकार ढले । लौ अब एमाले सकियो भन्ने थियो, तर सकिएन !

कांग्रेससँग चुनाब लडेको माओवादी पल्टी खेल्दै केपी ओलीको काँध चढेर प्रधानमन्त्री भयो । एकदम नयाँ सोच र ऊर्जासहित आएको भनिएको रास्वपा र राप्रपा पनि ह्वातहुत्तै प्रचण्डसँग गए । संसदजस्तो ठाउँबाट ओलीले अबको पाँच वर्ष ढोक्सामा केही नपर्ने ग्यारेन्टी गर्दै कांग्रेसलाई ढोक्सा नथाप्ने धम्की दिए, साँच्चिकै कांग्रेस सकियो जस्तो लाग्यो, तर केही महिनामैं फेरि ढोक्सा भरियो ।

प्रचण्ड फेरि कांग्रेसतिर पल्टी खेलेपछि यो संसदमा देउबा र माधव नेपाल बरु प्रधानमन्त्री बन्ने भए, तर ओली बन्दैनन् भन्ने थियो, त्यो पनि फेल भयो । प्रधानमन्त्री त फेरि पनि प्रचण्ड नै थिए तर ’देशी विदेशी षड्यन्त्र’ चिर्दै फेरि ऐतिहासिक नयाँ गठबन्धन बनेको घोषणा भयो । दुर्घटना हुनै लागेको देश सही ट्रयाकमा फर्किएको भाषण भयो । यो नयाँबन्धन चुनाबसम्मैं जाने र पार्टी नै एक हुने भन्ने दाबी र गुणगान सुरु भयो ।

अब कांग्रेसको पालो सकियो भन्ने थियो, तर फेरि खेल फेरियो । अहिले धेरैलाई माओवादी र रास्वपा सकियो जस्तो लागेको छ भने केही महिनामा ’ग्राउण्ड–रियालिटी’ ठ्याक्कै उल्टो हुन पनि सक्छ ! माओवादी सकियो भन्ने त तपाईंले आठदश वर्षदेखि सुन्दै आएको हुनुपर्छ तर आठदश वर्ष यता ऊ ड्राइभिङ् सिटमैं छ ! एमालेलाई सभामुख, कांग्रेसलाई राष्ट्रपति र रास्वपालाई उपप्रधानमन्त्री दिने माओवादी नै हो । दुई सय बढ़ी काण्ड बोकेका दुई दलले हात मिलाउने बित्तिकै एकदुई काण्डमा मुछिएको रास्वपा सकियो भन्नु पनि क्षणिक उत्तेजनामात्रै हो ।

निष्ठा, आदर्श, सिद्धान्त, इमान र देशलाई सोचेर गरिएका पल्टी, गठबन्धन या तटबन्धन भए पो लौ अब यो सकियो, ऊ सकियो भन्नु ! सबैको उद्देश्य उही, गन्तव्य उही, घुम्ती उही । कहाँनिर कससित को ठोकिन्छ के थाहा ! ढुक्क हुनुस्, कोही साँच्चिकै सकिन लाग्यो भने यिनैले मिलिजुली उठाउँछन्, माओवादीलाई कसरी उठाए भन्ने त याद नै होला ।

देशको आम्दानीले त तलबभत्ता पनि धान्दैन भन्ने थाहै छ । अब ऋण लिने र हरेक छ महिनामा काठमाडौंदेखि महेन्द्रनगरसम्म मन्त्रीका गाड़ी र नेमप्लेट फेरेपछि देशको मुहार कसो नफेरिएला ?

साभारः नारायण गाउँलेको फेसबुकबाट

Facebook Comments Box