काठमाडौं, २७ असार । यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार रोजिना थापा पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी देखापढीमा कार्यरत थापालाई पुरस्कार प्रदान गरेको हो ।
सर्लाहीकी रोजिना थापा सहित सुर्खेतका ललितबहादु बुढा, जुम्लाका सागर परियार र बैतडीका विनोद सिंह बिष्ट गरी चार जना पत्रकारले यस वर्षको युवा पत्रकारिता पुरस्कार पाएका हुन् । उनीहरू सबैजनाले ५० हजार नगद सहिद प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कार समारोहमा बोल्दै पत्रकार रोजिना थापाले कर्म गर्दै जाँदा युवा उद्यमको क्षेत्रमा सहयोग पनि भएको र पुरस्कारले थप काम गर्ने हौसला पनि मिलेको बताएकी छन् ।
१५ वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापाले पछिल्लो समय उद्यमको क्षेत्रमा देखिएका चुनौती, अवसर, सम्भावनाको बारेमा विषय उठान गर्दै सम्बन्धीत निकायलाई झझ्काउने काम गरेकी छन् । यसका साथै युवाहरूले नेपालमा नै केही गर्न सक्छन् र नेपालमा नै मिहिनेत गर्न सक्ने हो भने प्रसस्त सम्भावना पनि छ भनेर हौसला प्रदान गरेकी छन् ।
मेरो एफ.एमबाट पत्रकारिता सुरु गरेकी थापाले माउन्टेन टेलिभिजन, अरनीकोको टेलिभिजन हुँदै कान्तिपुर टेलिभिजनमा प्रसारणा हुने ‘मनि टक्स’ कार्यक्रममा काम गरेकी थिइन् । उनी अहिले देखापढी मिडियामा कार्यरत छिन् । उनले अझै पनि उद्यमकै विषयमा बुलन्द आवाज उढाइरेकी छन् । उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी उपाध्यक्ष एवं प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिकी महासचिव समेत हुन् ।