गुल्मी, १७ असार । गुल्मीको रूरूक्षेत्र गाउँपालिका किसानले आफूले उब्जनी गरेका कृषि उत्पादनहरूको बजारीकरणको माग गरेका छन् । गाउँपालिकामा संचालित ‘रूरू कृषि परियोजना’को अनुगमनको क्रममा अधिकांस किसानले आफूुहरूले उत्पादन गरेको कृषि उपजको उचित बजारीकरण नभएकोले गुनासो गरेका थिए ।
अनुगमनका क्रममा किसानले कृषि परियोजनाको माध्यमबाट सीप र प्रविधिको प्रयोगले गर्दा कृषि उत्पादन वृद्धि भएको तर उत्पादनले भने उचित बजार नपाएको गुनासो गरेका थिए ।
किसानले गुनसो सुनाउँदै बजारको अभावमा कतिपय तरकारी तथा फलफूल सित्तैमा बाड्नुको साथै बिग्रिएर, कुहिएर फाल्नु परेको समेत बताएका छन् ।
यसका साथै कृषि बालीको उचित बजार भाउको व्यवस्था गर्नुपर्ने पनि किसानको माग छ । साथै, किसानले पैचो पसलमा उत्पादन बिक्री गर्दा उचित मूल्य नपाएको समेत गुनासो गरेका छन्। पौचो पसलले मनलाग्दो मूल्य निर्धारण गर्ने गरेको समेत किसानले गुनासो गरेका छन् ।
रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले परियोजना अन्तर्गतका डेमोस्टेशनको उचित ब्यवस्थापन गर्न निर्देशन दिँदै अब सिघ्र रुपमा सहकारीमार्फत कृषि उत्पादनको बजारीकरणको व्यवस्था गर्ने बताएका छन् ।साथै,अध्यक्ष ज्ञवालीले आगामी आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ लगानीमा संचालित कार्यक्रमलाई निरन्तरता दिनुका साथै बजारिकरणमा समेत जोड दिने प्रतिवद्धता जनाएका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको करिब ७० लाख रुपैयाँ र हेफर प्रोजेक्ट नेपालको ३० लाख रुपैयाँको लगानीमा रूरू कृषि परियोजना अन्तर्गत, दर्जन बढी कृषि खेती, तरकारी खेती, गाई पालन र बाख्रा पालन गरिएको छ ।