गुल्मी, १७ साउन। गुल्मीमा पछिल्ला केही वर्षहरूमा धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । आधा साउन सकिंनै लाग्दा जिल्लाभर ९३ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कले देखाएको छ । जिल्लामा यसपटक ७ हजार १८९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा केही कम हो ।
गुल्मीमा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान रोप्ने गर्दछन् । छिटफुट बाहेक जिल्लामा धान रोपाइँ सकिएको छ । जिल्लामा कुल ८ हजार ९५३ हेक्टरमा धान खेती गर्ने उब्जाउ योग्य जमिन रहेको छ । तर, बर्सेनि क्षेत्रफल घटर्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार जिल्लामा २०७७/०७८ मा ७ हजार ९२६, २०७८/०७९ मा ७ हजार ८४४ र हेक्टर र २०७९/०८० मा ७ हजार २१० हेक्टरमा क्षेत्रफलमा धान खेती भएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
जिल्लामा सबैजसो ठाउँमा सिँचाइको व्यवस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ति विदेशिएकाले पनि खेतीयोग्य जमीन बाँझो हुने थालेको हो । गुल्मीका किसानले रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामेलगायतका जातका धान लगाउने गर्छन् । हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायतरहेका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउसमेत वितरण गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा र छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, खैरेनी, साहाघाट र चेहमीका फाँटहरुमा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा तल्लाफाँट, इन्दे्रगौडां, भुवाचिदि, वामीटक्सार, पौदीअरेवा, धान खेती हुन्छ ।
यस्तै, मालिका गाउँपालिकाको सिमलटारी, मदानेको सिर्सेनीको सिम, अग्लुङफेदी र भनभनेको तल्लो क्षेत्र, धुर्कोटको पनाहाखोला र छल्दीको आसपास, इश्माको चौरासी फाँट, हुलाके, छल्दीखोलाको र निस्ती खोलाको आसपासमा धान खेती गरिंदै आइएको छ । गुल्मीदरबारको गरमटारी, खर्ज्याङ , टारीफाँट र घोडाहाफाँट, छत्रकोटको खर्ज्याङ, मनवाग, अगाहा, उल्लिखोला रुरुको टाहाटिम, घिउँवेशीलगायतका क्षेत्रमा धान खेती गरिदैं आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।