काठमाडौं, २ भाद्र । अंशुभरा ग्रुपले पोखराको लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो ।
अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताएका छन् । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा उक्त भवन निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु गर्ने उनले बताएका छन् ।
थापाले निर्माणाधीन उक्त प्रोजेक्ट नेपालमा फरक प्रकृतिको भएको बताएका छन् । उनले भने,‘नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ । यसले ग्राहकलाई फरक खालको अनुभूति दिनेछ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ ।’
अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ‘३१ एभिन्यु’ नामकरण गरिएको उनले बताए । उनका अनुसार भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका लुगा पसल, ह्ययान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए ।
अंशुभरा गु्रपले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । यस ग्रुपले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ‘पोखरा ट्रेड मल’ सञ्चालनमा गरेको थापाले बताएका छन् । उक्त मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् । यसका साथै यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ ।