गुल्मी, ०६ भाद्र । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकालाई सरकारले सम्मान गरेको छ । पालिकाले गरेको विकास निर्माणको कामलाई उच्च मूल्यांकन गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई सम्मान गरेको हो । स्थानीय सरकार संस्थागत क्षमता मुल्याङ्कन (लिसा)ले सार्वजनिक गरेको नतिजाको आधारमा अध्यक्ष ज्ञवालीलाई सम्मान गरिएको हो ।
सिंहदरबारमा आयोजित लिसाको नतिजा सार्वजनिक तथा सम्मान कार्यक्रममा मन्त्रालयले रूरूक्षेत्र गाउँपालिकासहित थप तीन वटा गाउँपालिका र तीन वटा नगरपालिकालाई समेत सम्मान गरेको छ । सरकारले विकास निर्माणमा गरेको उल्लेख्य कामको आधारमा स्थानीय सरकारलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
नतिजाको आधारमा गाउँपालिका मध्ये धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका प्रथम, गुल्मीको रूरूक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका द्वितीय भएका छन् ।
त्यसैगरी नगरपालिकामा धादिङको निलकण्ठ नगरपालिका प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिका द्वितीय र चितवनको रत्ननगर नगरपालिका तृतीय भएको छ ।
मुल्याङ्कनको आधारमा बेनिघाट रोराङ गाउँपालिकाले ७८.२५ अंक, रूरूक्षेत्र गाउँपालिका र इन्द्रावती गाउँपालिकाले ८७ अंक प्राप्त गरेका छन् । त्यसैगरी नीलकण्ठ नगरपालिकाले ९२.५ अंक, तिलोत्तमा नगरपालिकाले ९२ अंक र रत्ननगर नगरपालिकाले ९१.५० अंक प्राप्त गरेका छन् ।
सरकारले गरेको यस्तो सम्मानले अझ राम्रो काम गर्ने उर्जा थपिएको र अझै नयाँ र उत्कृष्ट काम गर्न हौसला मिलेको पुरस्कृत रूरू गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
सरकारले देशभरीका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो। सोही मूल्यांकनका आधारमा आज नतिजा सार्वजनिक र सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र सूचक तोकेको थियो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो।