गुल्मी, २२ साउन । गुल्मीमा घरमाथिबाट आएको लेदोसहितको पहिरोले दुई घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मंगलबार बिहानदेखि परिरहेको अविरल वर्षाले जिल्लाको मुसिकोट नगरपालिका –१ बिसौना स्थित स्थानीय बिष्णु बिक र हुकुम बिकको घर लेदोसहितको पहिरोले बगाएको हो।
लेदोसहितको पहिरोले घर पुरिंदा ६७ वर्षीय हुकुम बिक,४६ वर्षीय गोरे बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। केसीका अनुसार पहिरोमा परेर ६६ वर्षीया मसुरी बिक र साढे दुई वर्षीया रियान्सी बिकको ज्यान गएको छ। मृत्यु भएका गोरे हुकुमका छोरा हुन् भने मसुरी बिक बहिनी हुन्।
घरमा लेदोसहितको पहिरोमा परेर घाइते हुनेमा ३१ वर्षीय विष्णु बिक र २३ वर्षीया मुना बिक रहेका छन्। घाइते हुनेहरु श्रीमान श्रीमती हुन्। विष्णुको दाइने खुट्टा र छातीमा चोट लागेको छ भने मुनाको खुट्टा र ओठमा चोट लागेको छ। उनीहरु बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा उद्धारको काम जारी छ। घाइते २ जनालाई उद्धार गरी उपचारका लागि लगिँदै गरेको बताइएको छ। घटनास्थलमा मोटरबाटो पनि नजाने भएकाले उद्धारका लागि समस्या भएको बताइएको छ।