गुल्मी, ४ भाद्र । गुल्मी जिल्लामा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु भएको हो ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।

त्यसै अनुरुप दिवंगत आफन्तको चिरशान्तिको कामना गर्दै गुल्मीका नेवार समुदायले पनि आज गाईजात्रा पर्व मनाएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा पनि यो वर्ष भरि दिवंगत भएका २ जना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो ।

परम्परागत रुपमा निकालिएको गाईजात्रा तम्घास बजार परिक्रमण गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ८० घर भन्दा बढी नेवार समुदाय बसोबास गर्दै आएका छन् ।

जिल्ला सदरमुकाम तम्घाससँगै रुरुक्षेत्र गाउँपालिका–१ रिड, ५ टाहटिम,–४ वलेटक्सार, मुसिकोट नगरपालिकाको वामिटक्सार, सत्यवती गाउँपालिकाको खैरेनी, गुल्मीदबारको चारपाला लगायतका स्थानमा नेवार समुदायका नागरिकको बसोवास गर्दै आएका छन् ।

यी ठाउँमा पनि गाईजात्रा मेला भव्य रुपमा मनाउने गर्दछन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको थियो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु भएपछि भावविह्वल भएकी रानीलाई मनाउन जात्रा निकाल्ने प्रचलन सुरु गरेको मान्यता छ ।

Facebook Comments Box