गुल्मी, ०४ भाद्र । बुटवलदेखि गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको बसमा लेदो सहितको पहिरोले क्षति पु¥याएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१, रातामाटा स्थित सडकमा एक्कासि लेदो सहितको पहिरो खसेर लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरिएको हो।
गुडिरहेको बसमा एक्कासि पहिरो खस्दा बसको केही भाग पुरिएको छ भने यात्रु सबै सकुशल छन् । बसमा बुटवलदेखि तम्घासका छ जना र अन्य स्थानका तीन गरेर ९ जना यात्रु सवार थिए।
मदन भण्डारी राजमार्गअन्तर्गत उक्त सडकमा अहिले इलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी , जनप्रतिनिधि, स्थानीयको सहयोगमा पहिरो फाल्ने र बस निकाल्ने काम भइरहेको छ। गुल्मी लगायत आसपासका क्षेत्रमा मंगलबार बिहानदेखि अविरल वर्षा भइरहेको छ। ग्रामीण क्षेत्रका सडक पहिरोका कारण अवरुद्ध बनेका छन्।
यात्रु बर्सात र पहिरोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। मदन भण्डारी राजमार्गको रिडीदेखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ।