एजेन्सी, २० साउन । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् । तर सबै प्रदर्शन हिंसात्मक नभएको बताइएको छ ।

प्रधानमन्त्री कीर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरूविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारलाई पूर्ण सहयोग गर्ने वाचा गरेको छ । सोमबार साउथपोर्टको मर्सीसाइडमा टेलर स्विफ्ट थिमको डान्स क्लासमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो ।

कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको थियो भने अर्कोलाई लाती हानेर बाइकबाट खसालिएको थियो । केही प्रहरी घाइते भएको पुष्टि मर्सीसाइड प्रहरीले गरेको छ । दुई जना कामदारलाई अस्पताल लगिएको बताइएको छ । एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशङ्का गरिएको छ ।

यस घटनामा मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार र आफूहरूले देखिरहेको हिंसा दुई फरक कुरा भएको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरका प्रवक्ताले भनेका थिए । आवश्यक कारबाहीका लागि प्रहरीलाई सरकारले सहयोग गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

Facebook Comments Box