गुल्मी १९, भाद्र । गुल्मीका दुई वटा पालिकाले आफ्नै ठाउँमा उत्पालिन तरकारी र फलफूलको बजारीकरणको व्यवस्था गरेका छन् । जिल्लाका धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरण गरेका हुन् ।

धुर्कोटले किसानको उत्पादनको बजारीकरणका लागि बुटबलको देवीनगरको पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारसँग बिक्री सम्झौता गरेको छ ।

पालिकाले किसानको उत्पादन खरिद गरेको मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । त्यसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ । पालिकाले किसानसँग तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नास्पाती, पुदिना, सिन्की, काँक्रोलगायतका तरकारी तथा फलफूलको बजारीकरण गरिरहेका छन् ।

किसानका कृषिजन्य सामग्री खरिद गर्नका लागि पालिकाले प्रत्येक हप्ताको दुई पटक तरकारी भएको टोलमा गाडी पठाउने गर्दछन् । धुर्कोटमा आइतवार र बिहीवार तथा रुरुक्षेत्रमा मङ्गलवार र शनिवार किसानको तरकारी सङ्कलन हुँदै आएको छ ।

दुवै पालिकामा गरी अहिलेसम्म एक सय क्विन्टल तरकारी बिक्री भइसकेको छ । त्यसमध्ये धुर्कोटबाट ३० क्विन्टल बिक्री भएको छ । धुर्कोटमा प्रतिकिलो तरकारीको मूल्य औसतमा ४० रुपैयाँ र रुरुक्षेत्रमा औसतमा तरकारीको मूल्य प्रतिकिलो ४५ रुपैयाँका दरले बिक्री भएको छ ।

धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले आफूहरूले गरेको कामबाट बिचौलियाको समेत अन्त्य भई किसानले उचित मूल्य पाएको बताएका छन् । यस्तै रुरुक्षेत्रका अध्यक्ष यदु ज्ञवालीले गाउँमा ठूला उद्योग स्थापना गर्न असम्भव भएकाले कृषिजन्य उत्पादनको बजारीकरण गरेको बताएका छन् ।

 

Facebook Comments Box