काठमाडौं, १६ भाद्र । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य बीमा बोर्डको तथ्यांङ्कअनुसार पाल्पामा सबैभन्दा बढी ९९.४७ प्रतिशत, अर्घाखाँची ४९.१७, गुल्मीमा ४६.२४, प्युठानमा ३२.५८, बर्दियामा २९.७५ र रोल्पामा १७.९८ प्रतिशत बीमित संख्या रहेका छन् ।
त्यस्तै, रुकुमपूर्वमा १७.८६, कपिलवस्तुमा १७.२४, रुपन्देहीमा १६.७७, नवलपरासी पश्चिममा १३.५० र बाँके १३.०३ प्रतिशत बीमित संख्या छन् । यसअनुसार सबैभन्दा कम बीमितको संख्या दाङ जिल्लामा रहेको तथ्यांकले देखाएको छ । दाङमा ८.५० प्रतिशत बिमित रहेको स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशले जनाएको छ ।
प्रदेशका १२ जिल्लामा कुल जनसंख्या ५१ लाख २२ हजार ७८ जना रहेका छ भने बिमितको संख्या ११ लाख ९८ हजार ६ सय ४३ जना छन् । त्यस्तै प्रतिशतको हिसाबले लुम्बिनी प्रदेशमा २३.४० प्रतिशत छ । परिवारको जनसंख्या ११ लाख ४२ हजार ९ सय ५० ती मध्ये बीमित परिवारको संख्या ३ लाख ८३ हजार ७ सय १७ र प्रतिशतको हिसाबले ३३.५७ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशले जनाएको छ ।