काठमाडौँ । रुरु क्षेत्र विकास समाजले तिजका अवसर पारेर वृद्ध आमाहरुलाई सम्मान गरेको छ । शनिबार संखमुलस्थित एआईए स्कुलमा आयोजित रमाइलो तिज उत्सव २०८१ को भव्य समारोहका बिच ८४ वर्ष कटेका ९ वृद्ध आमाहरुको सम्मान एवं अभिनन्दन गरिएको हो ।

तिजका अवसरमा नाँचगान, दर कार्यक्रमसहित वृद्ध आमाहरुको सम्मान गरिएको थियो । तिजका अवसरमा सम्मानित भएपछि वृद्ध आमाहरुले खुसी व्यक्त गरेका थिए । ‘बुढी भइयो कहीँ जान, नयाँ कुरा देख्न सकिँदैन भन्ने लाग्थ्यो, यहाँ सबैलाई देख्न र भेट्न पाइयो ।’ एकजना आमाले भनिन् । ‘बाँचे त देख्न पाइने रहेछ, सबैलाई आशिर्वाद लागोस् ।’

गुल्मी रुरुमा जन्मेर हाल काठमाडौँमा कर्मक्षेत्र बनाएकाहरुद्वारा स्थापित रुरु क्षेत्र विकास समाजले आयोजना गरेको उक्त तिज उत्सवमा  सामाजिक अभियन्ता, शिक्षासेवी, कलाकार, पत्रकार, साहित्यकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पुर्वमन्त्री प्रदिप ज्ञवाली, पुर्व संसद माया ज्ञवाली, पुर्व मुख्य सचिव लिलामणि पौड्याल, वरिष्ठ साहित्यकार भागिरथि श्रेष्ठ, प्रा.डा.रामप्रसाद ज्ञवालीलगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लोक गायक राम प्रसाद खनाल र मञ्जु पौडेलको उपस्थितीका साथै नाँचगानले तिज मिलन कार्यक्रमलाई थप रोचक र रमाइलो बनाएको कार्यक्रममा उपस्थित धेरैले प्रतिक्रिया दिएका थिए ।उक्त कार्यक्रममा उपस्थित समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्व डा.लक्ष्मी पौडेलले यस्तो तिज मिलन कार्यक्रमले आफ्नो गाउँसमाजका मानिसहरुसँग भेटघाट गर्ने, रमाइलो गर्ने अवसर पनि दिनुका साथै सुमधुर सम्बन्ध पनि स्थापित हुने भएकाले यस्ता कार्यक्रम विषेश हुने बताइन् ।

कार्यक्रमको आयोजकमा रुरु क्षेत्र विकास समाजका साथै सहआयोजकमा ग्वादी विकास समाज, थोर्गा काठमाडौँ संपर्क तथा विकास मञ्च, रीमुवा समाज, गुल्मी बलेटक्सार विकास मञ्च, बम्घा समाज, भाटकुवा संपर्क समाज, रुरु काठमाडौँ गुठि, रुरू काठमाडौँ महिला मञ्चलगायत रहेका थिए ।

Facebook Comments Box