गुल्मी, १२ मंसिर । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीका दुवै मृगौलाले काम गर्न छाडेका छन् । गत वर्षदेखि उनका दुवै मृगौलाले काम गर्न छाडेका हुन् । उनी काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्युसँग लडिरहेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि रायमाझीको उपचारका लागि परिवारले सहयोगको माग गरिरहेका छन् । उनको उपचारमा थोरै भएपनि सहयोग गर्नको लागि गुल्मीको रेसुङ्गा नगरपालिका–१ गेष्ट हाउस टोल विकास संस्थाका सदस्यहरुले स्वस्फूर्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

यस संस्थाका सचिव लोक बहादुर कुँवलेले दुःखमा सहयोग गर्नु सबै मानवको कर्तव्य भएको बताएका छन् । ‘बुढेसकालको साहारा छोराको दुवै मृगौला फेल भएपछि रायमाझीकी आमा सहयोगको याचना गर्दै रोएको देख्दा गेष्टहाउस टोलबासी अत्यन्तै भावविह्ल भयौँ ।’ उनले बताए । थप कुरा गर्दै उनले भने,‘हामी टोलबासी मिलेर उपचारमा केह िसहयोग होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेका हौँ।’

कुँवरले गेस्ट हाउस टोलका मिना कुँवर, कोपिला थापा, नविन कुँवरको सक्रियतामा गेष्ट हाउसमा टोलमा बस्दै आएका ४१ जनाद्वारा रु.१५ हजार पाँच सय ६० रुपियाँ सहयोग संकलन गरी मृगौला पीडितकी आमा विष्णु रायमाझीको खातामा सहयोग पठाइएको बताए ।

घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिनु परेको पीडित रायमाझीकी आमा विष्णुु रायमाझी बताउछिन् । छोराको उपचारका लागि खर्च जुटेमा आफ्नो मृगौला भएपछि प्रत्यारोपन गर्ने भन्दै उनि भन्छिन्,‘ श्रीमान ५ वर्षअघि दुर्घटनामा परी गम्भीर घाइते भई अहिलेसम्म विस्तारामै हुनुुहुुन्छ। अब जीवनको सहारा भनेकै यही एउटा छोरा हो । यो पनि बिरामी भएपछि उपचार गर्ने पैसा छैन् ।’

पीडित रायमाझीको उपचारका लागि आमा विष्णुु रायमाझीको नाममा ग्लोवल आइएमई बैंकमा (खाता नं ०७००७०१००११८३३) खाता खोलिएको छ । सहयोग स्वरुप सोही खातामा रकम जम्मा गर्न सकिने छ ।

 

 

Facebook Comments Box