रोजिना थापा कार्की
जति दिन वित्छ, त्यति मेरो मन त्यो फिल्म हलको गेटको छेउमा राखिएको स्टिलको सानो थर्मसले तानिरहेको छ । हुन त म फिल्म हेर्नकै लागि भनेर हल निकै कम पुग्छु । म कक्षा ५ मा पढ्दा जस्तो लाग्छ । सिन्धुलीको गाउँको एउटा सानो बजारमा फिल्म हल भनेर चक्कटीमा बसेर त्यो टिभिमा सिडिमा चक्का राखेर चलाएर देखाइएको ‘दर्पण छायाँ’ फिल्म हेरेको थिए । त्यतिखेर टिकटको मुल्य ५ रुपैयाँ रहेछ । पैसा नभएर ९ कक्षामा पढ्ने एकजना चन्द्रकला दिदिले पैसा दिएर फिल्म हेराउनुभएको थियो । त्यो सम्झना २० औं वर्षपछि अहिले पनि ताजै छ ।
काठमाडौंमा आएपछि पनि भने करिब १६ वर्ष अघि , विश्वज्यती फिल्म हलमा हेरेको ‘पर्खि बसे’ फिल्म हेरेको याद आउछ । त्यो समय र यसपछिका केहि समय विशेषगरी साथीहरुसँग फिल्म हेर्न पुग्ने गरिन्थ्यो । पछिल्लो समय भने म पारिवारिक रुपमा फिल्म हेर्न हलसम्म पुग्ने गरेको छु । ‘महापुरुष’ पनि पारिवारीक रुपमा नै हलमा गएर हेरेको हो । अर्थात पछिल्लो समय फिल्म मेरो पारिवारीक समयसँग जोडिदै गएको छ ।
यो कुरा भने, मंसिर १ गतेको हो । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ । ८ वर्षको छोरा, ८ वर्षको भदा भाई सहित हामी फिल्म हलमा पुग्यौ । सो समय २ः३० को थियो । हामी ५ जना थियौं । बाइक पार्किङमा राखेर आउन दाइलाई अलि समय लागेकाले हलभित्र छिर्न लाईन लागेका मान्छे भन्दा हामी अलि पछि नै उभिरह्यौ ।
करिब करिब मान्छे हलमा प्रवेश गरीसकेका थिए ।
‘एकजनाले गेटमा भित्र पस्नै लाग्दा भन्नुभयो, यो पानी त लान दिनुस न । ’
गेटमा पुरुषको व्याग वा सामान चेक गर्ने पुरुष नै थिए । अनि महिलाको ब्याग वा सामान चेक गर्ने महिलानै थिइन ।
हाम्रो व्याग चेक भयो । हामी गेटबाट भित्र पस्नै पस्दै थियौ, ति अघि पानि लैजान दिनुस न भनेर अनुरोध गर्ने व्यक्ति त्यहि उभिरहेका रहेछन ।
उनले फेरि भनेको सुने , ‘निमोनिया भएको बच्चा छ । बाहिरको पानि खान नमिल्ने भएर मात्र ल्याएका हौ । यति पानि मात्र लैजान दिनुस न । ’
‘मिल्दैन भनेपछि सुन्नुभएन ?’ गेटमा बस्ने ति महिला पालेले रिसाएर भनिन ।
‘हैन पानि मात्र लैजान दिनुस न भनेको हो ।’ ति अभिभावकले अनुरोधको आवाजमा भने ।
‘यहाँ कत्ति जनाको सामान लिएर राखेको देख्नुभएन ? तपाईलाई मात्र लैजान दिएर हुन्छ ? अरुले के भन्छन् ? ’
गेट पाले ति महिलाको स्वर अझै चर्कियो ।
हामी गेटबाट भित्र छिरेर सिढि चढ्दै हलतर्फ लाग्दै थियौं । मैले यसो गेटको बाहिपट्टि भुइँमा आँखा पु¥याए, उनीहरुले फिल्म हेर्न जान लागेका मान्छेसँग लिएको केहि कुरकुरे र सामान्य अन्य थोरै केहि प्लाष्टिकमा रहेको सामान ढोकाको छेउमा देखे । त्यहि बिचमा एउटा स्टिलको सानो (विषेशगरी बच्चालाई खुवाउन प्रयोग गरीने) थर्मस देखे । मलाई लाग्यो ति अभिभावकले भित्र लैजान खोजेको पानि त्यहि थर्मसमा छ ।
फिल्म हेर्न आउने दर्शकलाई खानेकुरा बोकेर हलमा जान अनुमति दिइँदैन । हलभित्र छिर्नेबेला सबै चेकजाँच गरिन्छ । दर्शकले फिल्महल भित्रै बिक्री वितरण हुने खानेकुरा किन्नुपर्छ । हलभित्र खानेकुराको मूल्य अस्वाभाविक महँगो हुने गरेको गुनासो दर्शकहरुले गर्दै आएका नै छन् । अहिले त्यतातिर म जान चाहन्न ।
हलमा सवै गएपछि मान्छे अलि कम हुने र अनुरोध गर्दा पानि लान पाइने आसमा ति अभिभावक रहेका थिएकी जस्तो लाग्छ । तर त्यसो नभएपछि उनले हत्तासिदै फेरि सोधे, भित्र पानि लैजान के गर्नुपर्छ ?
पालेः ‘म्यानेजरलाइ भन्नुपर्छ ? ’
अभिभावकः ‘कहाँ छन म्यानेजर ?’
पालेः ‘माथि उहाँकै कोठामा हुनुहुन्छ ?’
ति अभिभावक २ पाइला अघि सार्छन, र यसो गमेर फेरि सोध्छन्, म्यानेजरको नाम ?
ति महिला पालेले म्यानेजरको नाम भन्छिन् ।
यतिसम्म सुन्दै म घटना स्थलबाट ओझेल परिसकेको थिए।
भित्र गइयो । फिल्म हेरियो । तर मेरो मनमा भने असान्त रहिरह्यो । ति अभिभावकले थर्मसको पानि भित्र लैजान पाएकी पाएनन होला ? फिल्म हेरेर फर्केर आउँदा त्यो थर्मस त्यहाँ थिएन । म्यानेजरलाई भनेर पानि भित्र लगे वा फिल्म हेरिसकेर हामी भन्दा चाडो निस्किएर थर्मस लगे वा तिनै गेट पालेले अन्त कतै राखिदिए । जे पनि हुनसक्छ ।
तर बस, मेरो मनमा एउटै प्रश्न उब्जिनै रहेको छ । के ति अभिभावकले त्यस्तो हप्की दप्की सहेर त्यति धेरै अनुरोध, अनि म्यानेजर नै भेट्न खोज्ने परिस्थिति त्यहि २० रुपैयाँको पानि (भलै भित्र हलमा त्यहि पानिको दोब्बर भन्दा अझै बढि पैसा तिर्नुपर्छ ) लिनको गाह्रोले मात्र गरे होलान त ?